Logo

नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमती छैन: प्रधानमन्त्री



काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नागरिकताका विषयमा अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा सबैको सहमतिका आधारमा उक्त व्यवस्था गरिएको समेत उल्लेख गरेका हुन् । यस सिद्धान्तमा कसैको विमती नभएको समेत स्पष्ट पारेका छन् ।

जन्मका आधारमा नेपालीलाई नागरिकता दिन, आमाको नाममा नागरिकता दिन र गैरआवासीय नेपालीलाई नागरिकता दिन कानुन आवश्यक भएको उनको भनाइ छ । जन्मसिद्ध नागरिक आमा बाबुका छोराछोरी नागरिकता पाउनुपर्छ भन्नेमा सबै एकै ठाउँमा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

“हामी विवाह गरी आउने महिलाका हकमा केही प्रक्रिया राख्नुपर्छ भन्नेमै छौँ, विवादै नभएको विषयमा किन विवाद गराउन खोजिएको छ? नागरिकता नपाउने १२-१५ लाख भइसके, केपी ओली प्रम हुँदा ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रम हुँदा ल्याएको विधेयक एउटै हो, अदालतमा भएको विषयलाई यहाँ किन विवाद गर्ने, अदालतको निर्णय सबैले मान्नुपर्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्