Logo

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिदैनौँ: प्रचण्ड



काठमाडौँ, २८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् ।

मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरेका हुन् ।

बीआरआई लगायतका परियोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिए ।

सो अवसरमा उनले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तत्काल खोल्न आग्रह गरे । नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारता पूर्वक काम गर्नुपर्ने उल्लेख गरेका थिए ।

दुई पार्टी बीचको सम्बन्ध कुटनैतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको उनको भनाइ थियो ।

प्रचण्डले भने, ‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सी जिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस् ।’

उनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्