अमेरिका, २८ पुस । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गरेका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् ।
नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन् । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारी हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका छन् ।
शपथ ग्रहणपछि संक्षिप्त कुराकानीमा भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रुपमा मतदाताले मत दिएर विजयी गराउनु महत्वपूर्ण उपलव्धि भएको टिप्पणी गरेका छन् ।







