काठमाडौँ, १८ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाँडै यू–२० टिमका खेलाडीसँग काम गर्न उत्साहित रहेको बताएका छन् । नेपालमा अल्मुताइरीको भविष्यलाई लिएर प्रश्न उठिरहेको अवस्थामा उनले बुधबार बिहान चाँडै नेपाली युवा टोलीसँग काम गर्न उत्साहित रहेको बताएका हुन् ।
“सकरात्मक र नकरात्मक पक्षसहित यू–२० साफ कप समाप्त भएको छ । यसमा सबैभन्दा महत्त्वपूर्ण भनेको भविष्यमा नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने युवा प्रतिभाहरू जन्मिएका छन्,” अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन्, “चाँडोभन्दा चाँडो तपाईंहरूसँग काम गर्न उत्साहित छु । अब साफ च्याम्पियनसिपका नराम्रो भावना बिर्सनुपर्छ र गल्तीबाट सिक्ने र त्यसलाई सुधार गर्नमा ध्यानकेन्द्रित गर्न आवश्यक छ ।”