काठमाडौँ, १ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका नाममा ‘ढुंगा पूजा गर्दै हिँड्न विज्ञानसम्मत नभएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले अध्यात्मवाद वा परम्परागत जडताले विभेदर, अपमान र उचनिच बनाएर मानिसलाई फुटाउनेतिर लैजाने बताए । उनले विज्ञान प्रविधिले समानता, समाजवाद र न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठूलो वहस चलाउन आवश्यक रहेकोमा जोड दिए । नेपालमा तेत्तिसकोटी देवता हुन्छन् भनेर जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने भन्दै उनले मान्छेलाई लात हान्दै हिँड्ने तर ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गरे । नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको उनको भनाइ छ ।
नाटककार बालकृष्ण समले ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको उनको जिकिर छ । अध्यक्ष प्रचण्डले यस्तो संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताए । उनले विज्ञानको दुरुपयोग र सदुपयोग दुवै हुने उल्लेख गर्दै विज्ञानको धेरै भन्दा धेरै सदुपयोग गरी देशको विकास गर्न जरुरी रहेको औंल्याए । उनले सही विचारलाई बोकेर विज्ञानको प्रचारप्रसार र प्रयोग गर्नसके जनताको विकासलाई सहयोग पुग्ने बताए । उनले देश विकासका लागि सबैले आफ्नो सोचाइ र हेराईको दृष्टिकोणलाई बदल्न वैज्ञानिक छलफल आवश्यक रहेको बताए ।







