
काठमाडौँ, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपपी) का बारेमा कुनै पत्र नआएको बताएका छन् ।
सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सबन्ध समितिको छलफलमा धारणा राख्दै प्रधानसेनापति शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाँड्ने प्रयासले बाहिर आएको समेत बताएका छन् । आफ्नो अमेरिकन भ्रमणका क्रममा कुनै हस्ताक्षरको कार्यक्रममा पनि नभएको उनको भनाइ छ ।
अमेरिकी सरकारले एसपीपीमा हस्ताक्षर गराउनका लागि दबाब दिएको भन्ने टिका टिप्पणी भइरहेको बेला प्रधानसेनापति शर्माले अमेरिका भ्रमण विशुद्ध मैत्रीपूर्ण भएको पनि बताए । “अहिले जुन १० बुँदे फरम्याट बाहिर आएको छ, त्यो आएको नै होइन, यो त हाम्रो एकता नचाहनेले यस्तो गरेको हुन सक्छ, यसमा हामी सचेत हुनुपर्छ”, उनले बैठकमा भने, “ढुक्क हुनुहोस्, नेपाली सेनाले कदापि नेपाली जनताको भावना विपरीत कुनै पनि काम गर्दैन ।”
उनले सैन्य गठबन्धनसहितको एसपीपी सहमति नेपाली सेनालाई कुनै पनि हालतमा मान्य नभएको बताए। “त्यस्तो एसपीपी कुनै पनि हालतमा हाम्रो लागि मान्य छैन”, शर्माले बैठकमा भने । यसअघि विपद् व्यवस्थापनमा सो सहमति गरिएको भए पनि सैन्य गठबन्धनका बारेमा त्यस्तो सहमति नहुने उनको भनाइ छ ।
उनले अमेरिकन भ्रमणका क्रममा कुनै पनि हस्ताक्षर कार्यक्रम नभएको पनि जनाएका छन् ।“मेरो अमेरिका भ्रमणमा कुनै पनि कुराको सिग्नेचर गर्ने कार्यक्रम छैन, त्यसमा अमेरिकाले पनि भनेको छैन, यो मैत्रीपूर्ण भ्रमण हो, यसबाट सशङ्कित हुनुपर्ने नै छैन” उनले भने ।
प्रधानसेनापति शर्मा शनिवार लेबनान जाने र त्यसको एक हप्तापछि मात्र अमेरिका जानुहुने छ भने सो बीचमा उनले सिरियामा कार्यरत नेपालका शान्ति सेनासँग भेटघाट गर्ने कार्यक्रम छ । “म भोलि लेबनान जाँदै छु, त्यसको दुई दिनपछि सिरिया र त्यहीँबाट एक हप्तापछि अमेरिकाको भ्रमण गर्न लागेको छु, यो भ्रमणमा केही हस्ताक्षर हुनेवाला छैन” प्रधानसेनापति शर्माले भने ।







