काठमाडौँ, २६ कात्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।
डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनका अनुसार त्यस प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।
अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरुप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताइन् । उनले भन्नि, “डिसेम्बरको अन्तसम्ममा उडान गर्ने भनेर तयारी हुँदैछ । कुन-कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ ।”
अहिले गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एअरलाइन्सले हप्तामा तीनवटा उडान गरिरहेको छ । नेपाल एअरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एअरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए-३३० र दुई थान न्यारोबडी ए-३२० जहाज छन् ।
गौतमबुद्ध विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको साढे पाँच महिनापछि गएको कात्तिक १७ देखि हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । एअरलाइन्सले दैनिक एक चार्टर्ड उडान गरिरहेको छ ।







