Logo

नेपाल एअरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै



काठमाडौँ, १५ मंसिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएको जनाइएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिए ।

उनका अनुसार साताको दुई दिन (आइतबार र मङ्गलबार) काठमाडौँ-दोहा-भैरहवा-काठमाडौँ र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाडौँ आउनेछ ।

यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुन: स्वीकृत भएको निगमले जनाएको छ । निगमले काठमाडौँ-दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्