Logo

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने



भैरहवा, २ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो ।

भैरहवा-नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने गरी उडान तालिका स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गरिएको छ ।

निगमको न्यारोबडी ए ३२० जहाजले काठमाडौँदेखि नयाँदिल्ली भएर भैरहवा गन्तव्यमा उडान भर्नेछ । जसअनुरुप नेपाल एयरलाइन्स काठमाडौँबाट दिल्ली पुगेर भैरहवा फर्किनेछ ।

भैरहवामा यात्रु ओरालेपछि जहाज काठमाडौँ फर्किनेछ । काठमाडौँ-नयाँदिल्ली गन्तव्यमा एक घण्टा १५ मिनेटको उडान हुनेछ भने दिल्लीबाट भैरहवामा एक घण्टाको उडान हुनेछ ।

नेपाल एयरलाइन्सलाई भैरहवाबाट दिल्ली उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

“नेपाल एयरलाइन्सले काठमाडौँ-दिल्ली भैरहवा उडान अनुमतिका लागि कागजात पेश गरेको थियो, प्राधिकरणले उडान तालिकाका लागि काठमाडौँ विमानस्थललाई पठाएको छ । भैरहवाबाट उडान गर्ने भएकाले अनुमति दिइएको हो”, उनले भने ।

नेपाल एयरलाइन्सले यसअघि काठमाडौँ-नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि निगमको दिल्ली नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती भइ सातामा १० उडानमा सीमित गरिएको थियो । जसका कारण हिमालय एयरलाइन्सले कात्तिक १७ देखि गौतमबुद्ध विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्