काठमाडौँ, २१ चैत । तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ ।
आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २३ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भएको हो ।
नेपालका शाहब आलमले सबैभन्दा धेरै ३७ रन बनाए । यस्तै देव खनालले २६, बसिर अहमदले २० रन जोडे । बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु हमफ्रेसले ५ र लायम म्याककार्थीले ४ विकेट लिएका थिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भयो । आयरल्यान्ड ‘ए’ का केड कारमाइकलले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै कप्तान निल रकले ३९ रन जोडेका थिए ।
बलिङतर्फ नेपालका कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । यस्तै शाहब आलम र मौसम ढकालले समान दुई विकेट लिँदा रिजन ढकालले एक विकेट लिएका थिए ।
एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ ।