काठमाडौँ, ६ फागुन । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । जितका लागि दुई सय १७ रनको लक्ष्य पाएको क्यानडाले ६ विकेट गुमाएर भेट्टाएको हो ।
क्यानडाको जितमा नवनितले सर्वाधिक ८० रन बनाए । ४५-४ को नाजुक अवस्थाबाट नवनितले निखिलसँग ७५ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए ।
अन्तिमसम्म अविजित रहेका निखिलले ११५ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन बनाए भने कप्तान साद जफरले २२ र श्रेयान्स मोभ्वाले २२ रन थपेका थिए ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनाएको थियो ।
नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् । त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडेका थिए भने किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाएका हुन् ।
क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे भने त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक-एक विकेट लिएका थिए ।