Logo

नेपाल केन्यासँग पराजित



केन्या, १० भदौ । केन्यासँगको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ ।

नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय १४ रनमै अलआउट भयो ।

नेपालका लागि आरिफ शेखले २५, रोहित पौडेल र मोहम्मद आदिल आलमले समान २०-२० रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ केन्याका इम्यानुएल बुन्दी, लुकास ओलुच र विराज पटेलले दुई-दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३२ रन बनायो । केन्याका लागि निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन-तीन, करण केसीले दुई र पवन सरार्फले एक विकेट हात पारेका थिए ।

केन्याले आजको खेल जितेसँगै पाँच खेलको शृङ्खलामा एक-एकको बराबरी भएको छ । पहिलो टी-२० नेपालले पाँच विकेटले जितेको थियो । नेपाल र केन्याले पाँच खेलको टी-२० र तीन खेलको एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्