Logo

नेपाल च्याम्पियन बन्दै एसिया कपमा



काठमाडौँ, १९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपालले उपाधि जितेको छ ।

उपाधिसँगै नेपालले यसै वर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा भेट्टाएको हो ।

आजको खेलमा नेपालका गुलसन झाले अविजित सर्वाधिक ६७ रन बनाए भने भीम सार्कीले ३६ रन जोडे । रोहन मुस्ताफाले २ तथा आयान खानले १ विकेट लिए । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अल आउट भएको थियो ।

सोमबार वर्षाका कारण २७ ओभर ३ बलमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा आज ११ रन जोड्दै यूएई १ सय १७ रनमा अल आउट भयो । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए । यूएईका कप्तान मोहम्मद वासिम ११ रनमा क्याच आउट भएका थिए ।

नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान २ तथा सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिए । एसिया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्