Logo

नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रितः अध्यक्ष दाहाल



काठमाडौँ, २१ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

पाँचदिने जापान भ्रमणमा रहेका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताए ।

“उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ, दुई देशबीचको सम्बन्धलाई विकसित गर्न, आर्थिकलगायत अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न यस्ता भ्रमणले वातावरण बन्छ”, उनले भने । जापान नेपालको विकासमा दातृ राष्ट्रका रुपमा रहेको औँल्याउँदै उनले नेपालको विकासमा आफूले बारम्बार जापान सरकारका प्रतिनिधिसँग कुराकानी गर्दै आएको स्मरण गरे ।

आफू जापानमा रहँदा त्यहाँका नेपालीका लागि नेपाल सरकारले के गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्ने उनको भनाइ थियो । “विभिन्न व्यवसायमा रहेका, विद्यार्थीलाई नेपालका तर्फबाट त्यहाँको सरकार र राजनीतिक दलका तर्फबाट के गर्न उचित हुन्छ भन्नेबारेमा म गहिरोसँग अध्ययन गर्छु”, उनले भने ।

नेपाली जनताले विकास र समृद्धि चाहेको उल्लेख गर्दै उनले वर्तमान सत्ता गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताए । “अहिले नेपाली जनताले समग्रमा विकास र समृद्धि खोजेका छन्, राजनीतिक स्थायित्व होस्, राजनीतिक अराजकतातर्फ नजाओस्, र विकासले गति लिओस् भने मुख्य चाहना छ”, अध्यक्ष दाहालले भने, “राजनीतिक नेतृत्व, पार्टी र गठबन्धनले विकास र स्थायित्वका लागि प्रयास गर्नुपर्छ ।”

नेपालको विकासका लागि विश्वभर छरिएर रहेका नेपालीको अनुभव, ज्ञान र साधनस्रोतको सुदपयोग गर्नुपर्ने उपदेशले मात्र अब काम नगर्ने जनाउँदै उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरु भएको सन्देश दिन सक्नुपर्ने बताए । “स्थायित्व र विकासको नयाँ प्रक्रिया सुरुआत गर्न सकेको खण्डमा छरिएर रहेका सबै नेपालीले आफ्नो अनुभव, सीप र साधनस्रोत नेपालमा प्रयोग गर्नसक्ने अवस्था रहन्छ”, अध्यक्ष दाहालले भने, “विदेश रहेका नेपालीलाई स्वदेश आउनुस् भनेर फर्कने अवस्था हुँदैन, नेपालमा विकास र राजनीतिको आधार बनाउनुपर्छ । जसले गर्दा नेपालीहरु स्वतः आफ्नो ज्ञान, सीप र सम्पत्ति लिएर स्वदेश फर्कने वातावरण बन्छ ।”

प्रतिक्रिया दिनुहोस्