काठमाडौँ, २३ वैशाख । जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएको छ ।
नेपालले दिएको एक सय ३७ रनको सामान्य लक्ष्य जिम्बावे ‘ए’ ले २७ ओभरमा सात विकेट गुमाएर भेटायो । जिम्बावे ‘ए’ का लागि इनोसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई-दुई विकेट लिए । यस्तै सोमपाल कामी र सागर ढकालले एकरएक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा एक सय ३६ रनमै अलआउट भयो । नेपालका लागि सोमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए । बलिङतर्फ जिम्बावे ‘ए’ का लागि ब्राड इभान्सले चार विकेट लिएका थिए ।