काठमाडौँ, ९ माघ । नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राष्ट्रिय टोलीका सदस्य समेत रहेका आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलमलाई पक्राउ गरेको हो ।
आदिल अन्सारीले गएको जेठमा अमेरिकासँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । दुवै खेलाडीले स्पट फिक्सिङको योजना अनुसार काम गरेको सीआईबीको दाबी छ । उनीहरुले नेपाल टी-२० क्रिकेटको व्यापारिक अधिकार पाएको सेभेन थ्रि स्पोर्ट्सका मालिकको योजनालाई सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।
सीआईबीले बेलैमा एक्सन लिएका कारण खेल मिलेमतो अर्थात् म्याच फिक्सिङ हुन नपाएको तर स्पट फिक्सिङ भने भएको सीआईबीले जनाएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा विदेशी खेलाडी समेतको सहभागितामा गएको पुस ९ देखि २७ गतेसम्म काठमाडौँमा नेपाल टी-२० क्रिकेट लिग भएको थियो ।
खेल मिलमतोको आशङ्का भएपछि सीआईबीले प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । पूरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतका विषयमा खेलका अफिसियलसमेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ ।