Logo

नेपाल टी-२० लिग: पोखरालाई हराउँदै काठमाडौँ विजयी



काठमाडौँ, ९ पुस । पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाडौँ नाइट्ले नेपाल टी-२० लिगमा विजयी सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । पोखराका ओपनर उपुल थरंगाले सर्वाधिक ४४ रन बनाए । आरिफ शेखले २० तथा अमिर हम्जा र अभिमन्यु मिथुनले समान १८ रन बनाएका थिए ।

काठमाडौँको बलिङमा अविनास बोहराले तीन, बसिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रनको योगफल तयार गरेको थियो । खेल ढिला गरी शुरु भएकाले एक ओभर घटाइएको हो ।

काठमाडौँका ओमारजाइले ८५ रनको योगदान गरे । ८ ओभर ४ बलमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको काठमाडौँका लागि ओमारजाइले सुनम गौतमसँग १ सय १४ रनको साझेदारी गरे । सुनम २८ बलमा २ चौकासहित २७ रनमा अविजित रहेका थिए ।

पोखराका प्रतिस जिसी र जाहिर खानले समान दुई विकेट लिए भने मौसम ढकालले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्