स्कटल्याण्ड, २८ असार । आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो ।
नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो ।
नेपालका आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि नेपाल पराजित भयो । यस्तै देव खनालले ३४ रन जोड्दा कुसल भुर्तेलले २७ रन जोडे । करण केसी १९, आसिफ शेख १४ र आदील आलम र सोमपाल कामी समान १० रनमा आउट भए । नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २-२ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका थिए ।