Logo

नेपाल पहिलोपटक महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा



काठमाडौं, ५ जेठ । यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको छ।

सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफ्नो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो।

एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन्।

लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ। यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो।
यूएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि कप्तान इन्दु वर्मा २९ रनमा अविजित रहिन्। उनले २७ बलमा २ चौका प्रहार गरिन्। रुवि पोद्दार ६ रनमा नटआउट रहिन्।

ओपनर सम्झना खड्काले २१ रन बनाउँदै सुरक्षा कोटेको बलमा कट एन्ड बोल्ड भइन्। रुविना क्षेत्री २३ रन बनाउँदा ईशा ओझाको बलमा क्याच आउट हुन पुगिन्।

पूजा महतो १३ रन बनाउँदै पेभेलियन फर्किइन्। राजमती ऐरीले ८ तथा कविता कुँवरले ५ रन थपे।

त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो।

यूएईका लागि ओपनर तथा कप्तान ईशा ओजाले सर्वाधिक ३९ रन बनाउँदै क्याच आउट भइन्। विकेटकिपर तिथा सतिसले २१ रन बनाउँदै आउट भइन्। लावन्या केनीले १२ रन बनाउँदै आउट भइन्। हिना होट्चान्दानीले २० रन थपिन्।

नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन्। मनिषाले आफ्नो स्पेलमा मात्र २० रन दिइन्।

कविता कुँवरले दुई विकेट लिइन्। कविताले अन्तिम ओभरमा २ विकेट लिँदै यूएईलाई रोकेकी हुन्। राजमती ऐरीले एक विकेट आफ्नो नाममा गरिन्।

दोस्रो खेलमा नेपालले थाइल्यान्डविरुद्ध भोलि मंगलबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्