विराटनगर, ७ असार । आगामी असार ९ गते हुन गइरहेको नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनमा उठेको शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
साह नेतृत्वको समूहले आज एक कार्यक्रमकाबीच १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
अध्यक्षका उम्मेद्वार साहले पेशागत हकहित, नीतिगत सुधार र प्राविधिक पक्षलाई जोड दिने मुख्य एजेण्डा रहेको बताए । उनले फार्मेसिष्टको सरकारी दरबन्दी बढाउन पहल गर्ने बताएका छन् ।
फार्मेसी परिषदको लाइसेन्स परिक्षा तथा नविकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने उनले बताए । आफ्नो समूहले विजय प्राप्त गरेको खण्डमा नीति निर्माण तहसम्मै पुगेर माग सम्बोधन गराउन सहज हुने साहको भनाइ छ ।
त्यसैगरी साहको समूहबाट उपाध्यक्षमा विश्वनारयण चौधरी, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा संजिप खड्का र सदस्यहरुमा विजय कार्की, रश्मि अधिकारी र संगीनाकुमारी चौधरी रहेका छन् ।
अध्यक्षका उम्मेदवार साह लामो समयदेखि एनपीमा काम गर्दै आएको उनीसँग अनुभव रहेको छ । अध्यक्षका उम्मेदवार साह प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रको वरिष्ठ फार्मेशी अधिकृत रुपमा कार्यरत रहेका छन् ।
सबै पक्षको समावेशी प्यानल भएका कारण आफ्नो समूहले सबैको भावनाको प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदका उम्मेदवार विश्वनारायण चौधरीले बताए ।
त्यस्तै अर्काको समूहबाट बिवेक दाहालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । दाहालको समूहबाट उपाध्यक्षमा प्रदिप थापा, सचिवमा कृष्णप्रसाद बजगाईं, कोषाध्यक्ष यामप्रसाद चौलागाईं र सदस्यहरुमा सुरक्षा भण्डारी, सुवास गच्छदार र सरोज चौधरी रहेका छन् ।
अध्यक्षका उम्मेदवार दाहाल बीपी प्रतिष्ठान धरानमा फार्मास्टिको रुपमा कार्यरत रहेका छन् । एनपीए कोशी प्रदेशमा करिब सात सय मतदाता रहेका छन् ।
अध्यक्ष उम्मेदवार शम्भु साह समूहको प्रतिवद्धता पत्र
● फार्मेसी पेशासँग सम्बन्धित स्वदेशी विदेशी संघसंस्थासँग समन्वय गरि प्रदेशमा कार्यरत फामेर्सी जनशक्तिका लागि समय सापेक्ष क्षमता अभिवृद्धि तालिम, गोष्ठी, सेमिनार तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने ।
● अस्पताल फार्मेसी निर्देशिका २०७२ पूर्णरुपमा कार्यन्वयन गराउन पहल गर्ने ।
● प्रदेश तथा स्थानिय मातहतमा कार्यरत फार्मेसी जनशक्तिका पारिश्रमिक नेपाल सरकारले तोके बमोजिमको स्केलमा खुवाउन सम्बन्धित निकायमा पहल गर्ने ।
● नेपाल फार्मेसी परिषदको लाइसेन्स परिक्षा तथा नविकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने ।
● संस्थाको विकास गर्दै कार्यालय व्यवस्थित गर्ने तथा संस्थका जग्गा प्राप्तीको लागि पहल गर्ने ।
● निजी तथा सामुदायिक फार्मेसीमा कार्यरत जनशक्तिहरुको व्यवसायिक हकहितको लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्ने ।
● जहाँ औषधी त्यहाँ फार्मासिष्टको नारालाई समर्थन गर्दै हरेक स्थानिय तहसम्म दरबन्दीको सुनिश्चितता गर्ने साथै लोकसेवाबाट रिक्त दरबन्दीको विज्ञापन गर्न पहल गर्ने ।
● औषधी उद्योग तथा जोखिमयुक्त ठाउँहरुमा कार्यरत साथीहरुलाई जोखिम भत्ता तथा हेल्थ इन्सोरेन्स गर्न रोजगारदाता पहल गर्ने ।
● सामुदायिक फार्मेसीबाट बिमाको औषधी उपलब्ध गराउने संयन्त्र तयारीका लागि बिमा बोर्डसँग पहल गर्ने ।
● सामुदायिक फार्मेसी संचालन गर्न सहजताका लागि न्यून व्याजदरमा व्यवसायिक लोनको व्यवस्था गराउन सरोकारवालासँग पहल गर्ने ।
● विभिन्न विषयगत समिति बनाई ६-६ महिनामा फार्मासिस्टका लेख तथा रचनाहरुलाई प्रकाशित गर्ने ।
● संघियताको मर्म अनुसार ७ ओटै प्रदेशमा औषधी ब्यवस्था विभाग तथा राष्ट्रिय औषधी प्रयोगशालाको शाखा विस्तार गर्न नेपाल सरकारसँग पहल गर्ने ।
● व्यवसायिक हकहितको लागि यसै प्रदेशमा क्रियाशिल अन्य स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्ने ।