
काठमाडौँ, २५ चैत । नेपाल बार एसोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ ।
घिमिरे वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार बनेका हुन् ।
शुक्रवार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट घिमिरेले चार हजार चार सय ७४ मत प्राप्त गरेका छन् । घिमिरेसँग पराजित एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले दुई हजार चार सय ८२ मत प्राप्त गरेका हुन् ।
यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित भएका छन् । २५ सदस्यीय कार्यसमितिका लागि गएको १९ मा भएको निर्वाचनमा सात हजार चार सय २९ मत खसेको थियो ।







