चीन, १६ असोज । एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनाउन सक्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । सन्दीप जोरा २९ रनमा आउट भए । कुशल भुर्तेल २८ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे । भारतका स्पिनर रवि विश्रोई र आवेश खानले समान ३ विकेट लिएका थिए भने अर्शदीप सिंहले २ विकेट लिएका हुन् ।
त्यसअघि हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।
भारतका यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । कप्तान ऋतुराज गायकवाड २५ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका थिए ।