श्रीलङ्का, १ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले १ विकेट लिएका थिए ।
श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रोहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, सोमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशोर महतो २ रनमा नटआउट रहेका थिए ।
नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए । बलिङतर्फ भारत ‘ए’ का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिएका थिए ।
यो हारसँगै नेपाल एक खेलअघि नै समूह चरणबाट बाहिरिएको छ । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा पर्सि बुधवार यूएई ‘ए’ सँग खेल्नेछ । यूएई पनि समूह चरणबाटै बाहिरिइसकेको छ । यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।