काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्नुभएपछि उहाँले भाषा संस्कृति, सभ्यतालाई जोगाउन व्यक्तिगत र प्रधानमन्त्री दुवै हैसियतमा आफू तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने बताउनुहुँदै प्रतिष्ठानका केही जायज माग राज्यको क्षमताअनुसार क्रमशः पूरा गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयका रुपमा समावेश गर्न माग गर्नुभएको छ, त्यो पूरा गर्न नसकिने माग हो जस्तो लाग्दैन, मैथिली, भोजपुरी जस्तै यसलाई पनि ऐच्छिक विषयका रुपमा पाठ्यक्रममा समावेश गर्न सकिन्छ । निर्णय नगरी यहाँ मैले बोल्न मिल्दैन ।”