काठमाडौँ, १६ माघ । दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उप-विदेश मन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् ।
सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उपमन्त्री नुल्यान्डले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताइन् ।
उनले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर अपराधका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ प्रविधिमा सहयोग गर्ने विषयमा आउँदा दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता जनाएकी छन् ।
नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै उपमन्त्री नुल्यान्डले आउँदा दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन् ।
उप-विदेश मन्त्री न्युल्यान्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताएकी छन् ।







