Logo

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो: राष्ट्रपति



चितवन, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताएका छन् ।

गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । “समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ,” उनले भने ।

देशमा रहेका गुरुकुलमा कन्यालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताए ।

“गुरुकुलबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ,” राष्ट्रपति पौडेलले भने । विश्वको सबैभन्दा प्राचीन ग्रन्थ र आध्यात्मिक ज्ञान, विज्ञानको मूल वेदलाई मानिएको उल्लेख गर्दै उनले नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको बताए ।

राष्ट्रपति पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्