काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्का रूपमा नेपाल संवत् स्थापित भएको बताएका छन् ।
नेपाल संवत् मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताएका हुन् ।
विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि वाम अधिकारकर्मी पद्मरत्न तुलाधर र कवि दुर्गालाल श्रेष्ठको महत्त्वपूर्ण योगदान भएको बताए । श्रेष्ठ र तुलाधारले नेपाल संवत् तर्क र तथ्यसहित राष्ट्रिय संवत् हो भनेर ज्ञान दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय गरेको थियो । त्यसका लागि उत्प्रेरित गर्ने सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए । “यो हाम्रो संवत् हो सामाजिक न्यायसँग जोडिएको संवत् हो । सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ ।”
नेपाल संवत् नेवार समुदायको मात्रै नभई प्रत्येक नेपालीको भएको प्रधानमन्त्रीले बताए । “यसमा गर्व गर्नुपर्छ । मौलिक संवत्को रूपमा स्थापित गर्नुपर्छ”, उनले भने ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनाले ओतप्रोत नेपाल संवत्ल ‘सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली।।।’ पनि सोही भावनालाई मुखरित गरेको बताएका हुन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत विगतमा उत्पीडनमा रहेका समुदायले केही अधिकार प्राप्त गरेका उल्लेख गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट ती उपलब्धि भएका बताए ।
नेपाली जनताले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई थप स्थापित गरेर जानुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए ।







