मोरङ, १३ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल अहिले गम्भीर भू–राजनीतिक दबाब र बाह्य प्रभावको संवेदनशील घेराभित्र प्रवेश गरिसकेको बताएका छन्।
राप्रपा मोरङ जिल्लाको अधिवेशन उद्घाटन गर्दै आइतबार उनले मुलुक सामान्य राजनीतिक संक्रमणभन्दा धेरै अगाडि पुगिसकेको दाबी गरे। उनका अनुसार बाह्य शक्तिहरूको हस्तक्षेप तीव्र बन्दै गएको छ र राष्ट्रिय निर्णय प्रक्रियामाथि त्यसको असर स्पष्ट रूपमा देखिन थालेको छ।
लिङ्देनले नेपालका महत्त्वपूर्ण निर्णयहरू नेपाली जनतामा सीमित नरही बाह्य शक्ति–समूहहरूको प्रभावमा पर्न थालेको आरोप लगाए। उनले कसलाई सत्तामा लैजाने र कसलाई अघि बढाउने खेल बाह्य शक्तिकेन्द्रबाट संचालित भइरहेको दाबीसमेत गरे।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनले देशको समस्याको समाधान नगर्ने भन्दै उनले सहमति र नयाँ राजनीतिक दिशाबिना हुने चुनावले झनै अस्थिरता निम्त्याउने चेतावनी दिए।
उनले राजसंस्था, हिन्दू राष्ट्र र संघीयता खारेजीको पक्षमा उभिएका शक्तिहरूलाई राप्रपाभित्र एकजुट हुन आग्रह गर्दै राष्ट्रिय एजेन्डामा एकताको आवश्यकता दोहोर्याए। पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म सुदृढ बनाउने अभियान अघि बढाएको उल्लेख गर्दै लिङ्देनले साझा राष्ट्रिय समझदारीबिनाको राजनीतिले मुलुकलाई जोखिमतर्फ धकेलिरहेको टिप्पणी गरे।







