काठमाडौँ, ६ कार्तिक । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि नेसपाले संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो ।
नेसपाले संविधान संशोधनलगायतका माध्यमबाट देशको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प उल्लेख गरेको छ ।
भ्रष्टाचार अन्त्य गर्नका लागि जनलोकपालदेखि कर्मचारीतन्त्रको रुपान्तरणसम्मका योजना नेसपाले घोषणापत्रमा राखेको छ ।
राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने नेसपाको घोषणापत्रमा उल्लेख छ ।
भ्रष्टाचार अन्त्य गर्नका लागि सदाचार ऐनको व्यवस्था, जनलोकपाल गठन, संवैधानिक आयोग, विश्वविद्यालय तथा प्रतिष्ठानहरूको पदाधिकारीहरूको नियुक्तिमा दलीय भागबन्डाको अन्त्य, राष्ट्रिय योजना आयोगको पुनःसंचरना, नीति अनुसन्धान प्रतिष्ठानको सवलीकरण, निजामती सेवा प्रणालीको रूपान्तरण गरिने लगायतका विषय नेसपाको घोषणापत्रमा उल्लेख छ ।







