Logo

नेपाल सुरुङ मार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली



दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब सुरुङ मार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउनुभएको छ ।

आज दाङको घोराहीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देउखुरीमा पनि सुरुङ मार्ग बनाउने आफ्नो योजना रहेको सुनाउनुभयो । ‘पहिला मैले सुरुङका कुरा गर्दा धेरैले गिज्याए, रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, पानी जहाजका कुरा गर्दा धेरैले जिस्क्याए, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गङ्गासम्म लैजान सक्नु हुन्छ, त्यहाँबाट बङ्गाल जान सक्नुहुन्छ’, उहाँले भन्नुभयो ।

ओलीले यही वर्षको चैत महिना भित्र केही आरक्षण भित्र बाहेक सम्पन्न हुने बताउनुभयो । त्यस्तै पुष्पलाल मार्ग, मदन भण्डारी मार्ग निर्माणको काम पनि चलिरहेका ओलीले बताउनुभयो ।

उहाँले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै शङ्कर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताउनुभयो । ओलीले अब हाइ काढेर बस्ने होइन, सक्रियता देखाएर मिसन २०८४ सफल गर्न निर्देशन दिनुभयो । ‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नु पर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन’, उहाँले भन्नुभयो ।

माओवादीका अध्यक्ष प्रचण्ड अहिले आत्तिएर बोल्ने नबोल्ने सबै कुरा बोल्न लाग्नु भएको ओलीले बताउनुभयो । अहिलेको सरकार देशमा स्थिरता ल्याउन बनेकाले यो सरकार ढल्छ भन्दै बरबराएर नहिँड्न उहाँले प्रचण्डलाई आग्रह गर्नुभयो । अहिलेको सरकार, शान्ति, स्थायित्व, विकास, गरिबी निवारण लगायतका उद्देश्यले बनेकोले सोही कुरालाई मूल उद्देश्य बनाएर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

सामाजिक एकता, सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अगाडि बढाउन आफूले सरकारको नेतृत्व गरेको उहाँले बताउनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको ओलीले स्पष्ट पार्नुभयो । नेकपा एमाले कोही नेपाली पछि नपरोस् भन्ने गन्तव्यको साथ अघि बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्