Logo

नेपाल स्कटल्यान्डसँग पराजित



नामिबिया, २२ मंसिर । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।

नेपालले दिएको एक सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर भेटायो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले नटआउट ४६ र जर्ज मुन्सेले ४५ रन बनाए । बलिङतर्फ नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए ।

यसअघि नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई-दुई विकेट लिएका थिए ।

योसँगै नेपाल त्रिदेशीय एकदिवसीय शृङ्खलामा जितविहीन भएको छ । नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्