१३ अर्ब ७८ करोडको कारोबारपछि भोलिपल्टै सोमबार सेयरबजारमा फेरि उच्च कारोबार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार करिब छ महिनापछि पहिलो पटक कारोबार रकम १६ अर्बको हाराहारीमा पुगेको हो।
सोमबार कुल ३ करोड ६२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि साउन १४ गते १६ अर्ब ४४ करोडको कारोबार भएको थियो, त्यसयता यस्तो परिमाणको कारोबार देखिएको थिएन।
कारोबार रकम उल्लेख्य बढे पनि बजार सूचकमा भने सामान्य करेक्सन आएको छ। नेप्से ३.०७ अंकले घटेर २,७६९.०९ विन्दुमा बन्द भएको छ। यस दिन ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजार करेक्सनको बीचमा पनि पाँच कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका सेयर १० प्रतिशतले बढे। कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन्।
घटबढतर्फ नेशनल हाइड्रोपावरका लगानीकर्ता ‘टप लुजर’ बनेका छन्, जसको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँ ९० पैसाले घटेको छ। अधिकांश कम्पनीमा अधिकतम ३.१२ प्रतिशतसम्मको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर्स अग्रस्थानमा रह्यो, जसको सेयर ६५ करोड रुपैयाँ बराबरको किनबेच भयो। त्यसपछि आखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल र बन्दीपुर केबलकार शीर्ष कारोबार हुने कम्पनीमा परेका छन्।
सूचकगत रूपमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स र लगानी समूहमा करेक्सन देखिए पनि अन्य केही समूह हरियै रहे। पछिल्लो समय चुनावी प्रक्रिया स्पष्ट हुँदै जाँदा बजारमा लगानीकर्ताको चासो र गतिविधि बढ्दै गएको देखिएको छ।







