काठमाण्डाै, २२ माघ । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४.०८ अङ्कले घटेर २ हजार ७ सय १५.९१ विन्दुमा झरेको छ ।
आज जलविद्युत् र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज कर्पाेरेट विकास बैंक, ग्रीन विकास बैंक, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन जोशी जलविद्युत् विकास कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड ६९ लाख कित्ता शेयर ८ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।