Logo

नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट



काठमाडौँ, ९ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ ।

सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ ।

आज विभिन्न कम्पनी दुई सय ६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक ७२ दशमलव ३० अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७६ दशमलव ४४ र निर्जीवन बीमा समूह एक सय ११ दशमलव १८ अङ्कले घटेको छ ।

त्यस्तै, बैङ्किङ ३७ दशमलव २४, विकास बैंक ८६ दशमलव १३, वित्त ३६ दशमलव ५२, जलविद्युत् २६ दशमलव ६३ र लगानी समूह एक दशमलव ०२ अङ्कले घटेको छ । उत्पादन तथा प्रशोधन समूह १३ दशमलव ३४, लघुवित्त ३६ दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार तीन दशमलव ८७ र अन्य समूह २७ दशमलव ९९ अङ्कले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्