Logo

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ, १८ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव १७ अङ्कले ओरालो लागेर तीन सय ८६ दशमलव ३५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ९४ लाख १८ हजार नौ सय ५२ कित्ता शेयर रू चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रू २३ करोड ९४ लाख ४५ हजार सात सय ८५ बराबरको कारोबार भएको छ ।

यस्तै, सोल्टी होटल रू २० कोड ९४ लाख ३९ हजार दुई सय ८५, नागरिक लगानी कोष रू २० करोड ३३ लाख २५ हजार पाँच सय ५४, शिवम् सिमेन्ट रू १८ करोड १८ लाख दुई हजार, एनएलजी इन्स्योरेन्स कम्पनी रू १४ करोड नौ लाख ९० हजार एक सय २२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्