काठमाडौँ, १५ साउन । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ ।
नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार सात सय ३७ कित्ता शेयर ४० हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८५ करोड ८० लाख दुइ हजार एक सय ७५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
जलविद्युत् समूह आठ दशमलव ५७, लघुवित्त समूह चार दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् । बैंकिङ समूह नौ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन तीन दशमलव ७६ र लगानी समूह शून्य दशमलव १० अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा समूह दूइ दशमलव ४८, निर्जीवन बीमा समूह चार दशमलव ६१ र अन्य समूह शून्य दशमलव ०८ अंकले बढेको छ ।