काठमाडौँ, २६ भदौ । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको दाहसंस्कार बुधवार काठमाडौँमा गरिने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिएका छन् । नेम्वाङका छोरा बुधवार वेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने भएको छ ।
नेम्वाङको पार्थिव शरीर आज र भोलिसम्म ललितपुरका च्यासलस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यहीँ नेम्वाङको निधन भएको थियो ।






