काठमाडौँ, १५ मंसिर । सन् २०२२ को नोभेम्बर महिनामा नेपालमा ७२ हजार ६ सय जनाभन्दा धेरै विदेशी पर्यटक आएका छन् ।
नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । भारतबाट नोभेम्बरमा २० हजार पाँच सय ३२ जना पर्यटक आएका छन् । दक्षिण एसियाबाट नेपाल आएका पर्यटकको सङ्ख्या २४ हजार पाँच सय ९९ जना रहेको छ ।
यस्तै एसियाका अन्य देशबाट नौ हजार चार सय १५ जना पर्यटक नेपाल आएका छन् । युरोपबाट १७ हजार दुई सय ९९ जना नेपाल आएकामा बेलायतका मात्रै पाँच हजार एक सय जना रहेका छन् । अस्ट्रेलिया र न्युजिल्यान्डबाट तीन हजार छ सय ७७ जना र अमेरिकी देशबाट नौ हजार १५ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी मध्यपूर्वका देशबाट आठ सय ७६ जना र अन्य देशबाट सात हजार आठ सय ४२ जना गरी नोभेम्बरमा ७२ हजारभन्दा धेरै पर्यटक नेपाल आएका हुन् ।







