ताप्लेजुङ, २३ माघ । प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार पक्षधरका तीन जना रिहा भएका छन् । सिदिङबा गाउँपालिका –५ का लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन बुधबार साँझ रिहा भएका हुन् ।
तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मादेन १० हजार रुपियाँ र लिम्बुद्वय ५–५ हजार धरौटीमा छुट्नु भएको हो ।
पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक समेत रहेका मादेनलाई प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको कसुरमा र लिम्बुद्वयलाई छुरासहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लिम्बूद्वयलाई गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडाबाट र मादेनलाई गत माघ १५ गते सदरमुकामबाट प्रहरीले पक्राउ गरेका थिए । ‘नो केबलकार’ समूहले आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहाई लगायतको माग राख्दै यातायात अनिश्चितकालीन बन्द गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबिच मङ्गलवार राति भएको वार्तामा पक्राउ परेका आन्दोलनरत पक्षका कार्यकर्तालाई रिहाई गर्ने सहमति भएको थियो ।