Logo

न्यायाधीश नियुक्तिमा अब राजनीतिक भागबण्डा हुँदैन: कानुनमन्त्री



काठमाडौँ, १८ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकमा सांसद प्रेम सुवालले सत्तासीन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि भनेर प्रश्न गरेका थिए ।

मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताएका हुन् ।

उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरेका थिए ।

सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरु गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए ।

उनले भने, ‘अब यो न्यायाधीश नियुक्तिको सन्दर्भमा वास्तवमा यो न्यायालयमा न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको छ । भागबण्डा हुँदैन सभामुख महोदय । छिटो, छरितो रुपमा न्याय निरुपणका लागि सर्वोच्च अदालत आफैँले विभिन्न प्रयासहरु गरिरहेको छ भने आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रबन्धमार्फत न्याय सम्पादनलाई छिटो, छरितो बनाउनका लागि नेपाल सरकार क्रियाशील रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्