Logo

न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ: मन्त्री गुरुङ



काठमाडौँ, २८ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधयेक, २०८० को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले विभिन्न अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताएका हुन् ।

“विभिन्न अदालतमा न्यायाधीश पद रिक्त छ, नियुक्ति प्रक्रिया लागि चाँडै अघि बढाइनेछ”, मन्त्री गुरुङले भने, “न्याय परिषद्को सदस्यको भएकाले छिट्टै त्यो काम अघि बढाउने छु ।”

मन्त्री गुरुङले नेपालको संविधान जारी भएपछि सङ्घीयता कार्यान्वयनका लागि कानुनको अध्ययन, पहिचान र अध्ययन गरिरहेको सदनलाई जानकारी दिँदै केही नेपाल ऐन संशोधनमार्फत दुई सयभन्दा बढी कानुन निर्माण गरिसकेको जानकारी दिए ।

“मौलिक हकका कानुनको पनि निर्माण गरिसकेको छ, संविधान जारी भइसकेपछि एक सय ९१ ऐन जारी भइसकेको छन्”, उन्ले भने, “मौलिक हक कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनिसकेका छन्, दुईवटा नियमावली मात्र बन्न बाँकी छ, त्यो बन्ने प्रक्रियामा छ ।”

मन्त्री गुरुङले न्यायलाई जनतासँग जोड्नकै लागि स्थानीय तहमा न्यायिक समिति निर्माण गरिएको र सरकार सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने र अन्य कानुन जिम्मेवार भएर कानुन निर्माण गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्