Logo

पञ्चवटी वीरभद्र महाकाली धामको पुराणको आयव्यय सार्वजनिक, ४१ लाख बढी संकलन 



मेचीनगर, ६ पुस । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा अवस्थित श्री पञ्चवटी वीरभद्र महाकाली धाममा सम्पन्न भएको पुराणको आयव्यय सार्वजनिक भएको छ ।

बिहिबार धाम परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत पुराण आयोजक समितिले आम्दानी र खर्च सार्वजनिक गरेको हो ।

गत मंसिर १५ गते देखि २१ गतेसम्म आयोजना भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरेर ४१ लाख २५ हजार ४२७ रुपैयाँ आम्दानी भएको छ । जसमा रसिद मार्फत प्राप्त रकम ३६ लाख ४९ हजार १६५ रुपैयाँ रहेको छ । धान बिक्रीबाट ३ लाख ७३ हजार ९५० रुपैयाँ, चामल बिक्रीबाट ३२ हजार ७५० रुपैयाँ, थप रसिदबाट ६२ हजार ७०५ रुपैयाँ, अन्य आम्दानी ३ हजार ४८९ रुपैयाँ र श्रोताहरूले चढाएको चिनी, मिश्री बिक्रीबाट ३ हजार ३६८ रुपैयाँ आम्दानी प्राप्त भएको हो ।

त्यसैगरी पुराण सम्पन्न गर्न समितिले विभिन्न १८ वटा शीर्षकमा २३ लाख ३४ हजार ६८१ रुपैयाँ खर्च भएको बिल भौचर रहेको र मन्दिर समितिको नाममा रहेको स्थानीय सरकारीमा ८ लाख ८६ हजार ७२० रुपैयाँ, ग्लोबल बैक मा क्युआर बाट प्राप्त दान भेटी २ लाख २९३ रुपैयाँ, रसिद काटेर उठ्न बाँकी रकम ६ लाख ८८ हजार २४५ र बैकले नसाटेको भारु दानलाई नेपाली रुपैयाँमा परिणत गर्दा हुन आउने ५ हजार ४८८ रुपैयाँ गरि जम्मा १७ लाख ९० हजार ७४६ रुपैयाँ बचत रहेको  पुराण समितिका सचिव प्रेमराज घिमिरेले हिसाब सार्वजनिक गर्नेक्रममा जानकारी गराएका थिए ।

पुराण मुल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरी र सचिव प्रेमराज घिमिरेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईं र सचिव सहदेव ढुङ्गानालाई खर्च तथा आम्दानीको बिल भौचरसहित हिसाव हस्तान्तरण गरेका हुन् ।

बचत रकम र स्थानीय, प्रदेश सरकार सँग योजना माग गरेर मन्दिरका लागि जग्गा थप, अतिथि सदन, सामुदायिक भवन, ज्येष्ठ चौतारी, जग्गा घेराबाराको काम थालनी गर्ने पुराण समितिका संयोजक तिलकप्रसाद गिरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्