Logo

पञ्जाबमा मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने मुख्यमन्त्रीको घोषणा



पञ्जाब, ३ वैशाख । भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने घोषणा गरेका छन् ।

आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा मुख्यमन्त्री मानले पञ्जाबका नागरिकले हरेक महिना तीन सय युनिटसम्मको बिजुली नि:शुल्क पाउने घोषणा गरेका हुन् ।

उनले औद्योगिक उपभोक्ताको लागि महसुल नबढाउने र कृषकहरुका उपकरणमा लाग्ने शुल्क पनि कटौती गरिने बताएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

उनले गएको मंगलबार ट्विट गर्दै आफूले दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गरेको र पञ्जाबका नागरिकलाई छिटै एउटा खुसीको खबर दिने बताएका थिए । हरेक घरमा तीन सय युनिटसम्म बिजुली नि:शुल्क उपलब्ध गराउने विषय आम आद्मी पार्टीको चुनावी वाचामध्ये एक थियो ।

प्रतिक्रिया दिनुहोस्