Logo

पञ्जावलाई हराउँदै आरसीबीले चुम्यो आइपीएलको उपाधि



काठमाडौं, २० जेठ । पञ्जाव किग्संलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैग्लोर (आरसीबी) ले पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि उचालेको छ।

मंगलबार राति सम्पन्न आइपीएलको १८ औँ संस्करणले आठौँ नयाँ च्याम्पियन पाएको हो। यसअघि सात टोलीले आइपीएलको उपाधि जितिसकेका छन्।

आरसीबीले पञ्जावलाई ६ रनले हराउँदै नयाँ च्याम्पियनका रुपमा उदाएको हो। जारी आइपीएलमा यी दुई टोलीबीच चौथो पटक भेट भएको हो। यी चार भेटमा आरसीबीले तीन पटक जित निकालेको छ। पञ्जावले एक खेलमा मात्र जित निकालेको छ।

यसअघि तीन पटक आइपीएलको फाइनल खेलेको आरसीबीले चौथो प्रयासमा उपाधि उचालेको हो। यसअघि आइपीएलको फाइनल खेल्ने टोलीमा विराट कोहली मात्र एक्ला खेलाडी हुन्।

आरसीबीले यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो। उता ११ वर्षपछि उपाधि नजिक पुगेको पञ्जाव दोस्रो पटक पनि उपाधिबाट टाढिएको हो। पञ्जावले सन् २०१४ मा पहिलो पटक फाइनल खेलेको थियो।

आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १ सय ८४ न मात्र बनाउन सक्यो।

पञ्जावका जस इङ्लिसले बनाएको ३९ रन नै टोलीका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दा क्रुनाल पाण्ड्याको बलमा क्याच आउट हुन पुगे।

ओपनर प्रियांश आर्याले २४ र प्रविसिमरन सिंहले २६ रन थपे। पहिलो विकेटका लागि आर्या र सिंहले ४.६ ओभरमा ४३ रनको साझेदारी गरेका थिए।

नेहाल वाडेरा १५ रनमा क्याच आउट हुन पुगे।

त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको थियो।
बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे।

कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे। मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थपे। लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे।

१० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट हुन पुगे। रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे।

पञ्जावका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान ३ विकेट झारे। अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्