झापा, ३० जेठ । पण्डित बन्ने रहरले भारतमा संस्कृत पढ्न गएका योगराज धमला फर्कँदा घाटे (लास पोल्ने कार्य गर्ने) बनेर फर्किए । योगराज १५ वर्षको उमेर संस्कृत पढ्न गया पुगेका थिए । गयामा तीन वर्षसम्म संस्कृत अध्ययन गरे । उनले वेदको पनि अध्ययन गरे । तर, धमलाले जीवनभरका लागि पेसा भने लास पोल्ने अपनाए ।
भारतको गया, काँशी, गुवाटी, पाण्डव, हरीचन्द्र लगायतका घाटमा लास जलाउँदा जलाउँदै १२ वर्ष बितेको धमलाले पत्तै पाएनन् । ३० वर्षको उमेरमा योगराजले नेपाल फर्किए । र, उनले देवघाटको नारायण घाटमा ६ वर्ष लास पोलेर बिताए ।
संस्कृत पढ्न एक जना पण्डितसँग भारत पसेका धमलाले तीन वर्ष संस्कृत र वेदको अध्ययन गरे । संस्कृत पढ्दा खासै पैसा नहुने समयमा एक जना रामलाल मरेठा भन्ने भारतीय मित्रले लास पोल्न सिकाएको धमलाले बताए । उनले भने, ‘१८ वर्षको उमेरबाट लास पोल्न थालेँ । बिहानदेखि साँझसम्म बगरमा बसिन्थ्यो । कसैले आठाना दिन्थे, त कसैले एक रुपैयाँ । बेलुका कमिजको दुईटा गोजी भरिन्थ्यो । तीन–चार सय जम्मा भएको हुन्थ्यो ।’
धमला ६६ वर्ष पुगे । कनकाई नगरपालिका कोटीहोममा स्थाई बसोवार गर्ने धमला कनकाई नदीको पूर्वी घाटमा ७० सालबाट लास जलाउने काम गर्दै आएका छन् । उनले सानैबाट डर भन्ने कस्तो हुन्छ, लाग्दै नलागेको बताए । उनले भने, पाँच जनाको परिवार मजाले चलेकै छ । यसैमा रस भिज्यो, अरु काम छाडेर यसैमा लागेको छु । आफूले सकिन्जेल अब यही काम गर्दै बस्छु ।’
धमलासँग शीपको कमी छैन । तर, उनी लास जलाउनमै आनन्द आउने बताउँछन् । उनले भने, मैले काठ मिस्त्रीको काम गरेँ, बस, ट्रक पनि कुदाएँ । तर, मलाई यहि काम प्यारो लाग्छ । म यसैमा खुशी छु ।’
कनकाई नदीको घाटमा आफु आउँदा लास जलाउँनेको अभाव रहेको उनले सुनाए । कोटीहोममा धमला बा को नामले परिचित योगराज आफ्नो काम प्रति सन्तुष्ट छन् । आठआन्ना पैसाबाट लास जलाउँन सुरु गरेका उनले अहिले एउटा लास जलाए बापत पाँच सय रुपैयाँ लिने गरेका छन् ।
‘म यहाँ आउँदा लास डढाउँने कोही थिएन । मान्छेको अभाव थियो । आफुले जानेको काम भनेर सुरु गरे । जो कोहीले लास डढाउँनै जान्दैन । हाम्रो यसको आफ्नै तरिका हुन्छ । जान्दा छिटो हुन्छ । सहुलियत हुन्छ ।’ उनले थपे, ‘यो एउटा सेवा जस्तो हो । आफ्नो धर्म पनि हो । कहिले गरिब दुखिः आउँछन्, उनीहरु सँग पैसा लिने गरेको छैन । कसैले खुशी भएर १५ सय दुई हजार रुपैयाँसम्म दिने गरेका छन् ।’
सबै भन्दा धेरै २०७२ सालमा एकै दिन ११ वटा लास डढाएका धमला आफुसँग जास्तो सुकै शीप भएपछि कुनैपनि ठाउँमा पछि नपरिने बताउँछन् । श्रीमती, छोरा, बुहारी र नातीसँग बस्दै आएका धमला आफ्नो काम र पेशाप्रति खुशी छन् । २५ वर्ष भन्दालामो समय लास डढाएरै बिताएका धमला सानो भएपनि एउटा सेवा र सहयोग गर्न पाएकोमा रमाएका छन् ।