डडेल्धुरा, २५ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन् ।
देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा.आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन् ।
देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए । देउवालाई जवाफ पठाउनका लागि दिउँसो २ बजेसम्मको समय दिइएको थियो । ‘बिहान साढे ११ बजे प्रधानमन्त्री देउवाज्यूले पठाउनु भएको जवाफ कार्यालयमा दर्ता भएको छ । जवाफ हेरेर बेलुकी ५ बजेसम्म निर्णय लिन्छौ’, वाग्ले भने ।
देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरी दिएका थिए। डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
देउवाको नागरिकतामा जन्ममिति विक्रम संवत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ ।







