काठमाडौं, २६ साउन । अमेरिकामा फेरि एक जना व्यक्तिले पत्नी र छोरालाई गोली हानी हत्या गरेका छन्। लगत्तै उनले आत्महत्या गरेका छन्।
टेक्सस राज्यको डालास सहरमा हत्यापछि आत्महत्या गोली काण्डमा एकै परिवारका तीन जनाको मृत्यु भएको बताइएको छ।
शनिबार बिहान २ बजेर १० मिनेटमा डडली स्ट्रिटको १९०० ब्लकमा गोली काण्ड भएको थियो।
डालास प्रहरीका अनुसार ५३ वर्षीय ललित प्रधान, ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानको मृत्यु भएको हो। गोली ललितले नै चलाएका थिए।
ललितले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको र ललितलाई अस्पताल लगेपछि मृत घोषणा गरिएको थियो। ललितले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।
ललितले घटनाको एक दिन अघि मात्र आफू लामो समयदेखि तनावमा रहेको र काममा समेत उपस्थित हुन नसकेको बारे आफ्नो फेसबुकवालमा पोष्ट गरेका थिए।