Logo

पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउँछु: घिमिरे



काठमाडौँ, १६ माघ । सभामुख देवराज घिमिरेले पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन् ।

सोमवार संसदीय मामिला पत्रकार समाजमा आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् ।

उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचार सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए । पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने घिमिरेको भनाइ छ ।

उनले भने, ‘मिडियाले भइरहेका कुराहरू समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने हो । देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरू र गरिएका निर्णयहरूलाई लिएर पत्रकारहरूलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठेरो पार्नुपर्ने हुँदैन । सही कुरा रोक्नका लागि संसद्, संसद् सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरू छैन । आउँदैन । आउनुहुँदैन ।’

सभामुख घिमिरेले समाजलाई सचेत गराउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका कमजोरीलाई अन्त्य गर्नुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्