काठमाडौं, ६ माघ । वरिष्ठ पत्रकार ऋषि धमलाले औपचारिक रूपमा पत्रकारिता क्षेत्र छोड्दै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर उनी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी मनोनयन दर्ताका लागि सोमबार रौतहट प्रस्थान गरेका हुन्।
धमलाको यो निर्णयप्रति उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत गर्व र भावुकता व्यक्त गरेकी छन्। उनले जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर धमलाले राजनीति रोजेको बताउँदै, लामो समय पत्रकारितामार्फत सत्यको पक्षमा उभिँदै आएको अनुभव र प्रखर विचारले राजनीतिक क्षेत्रमा पनि सकारात्मक योगदान दिने विश्वास व्यक्त गरेकी छन्।
गौतमले यो यात्रा पद प्राप्तिका लागि नभई जनसेवाको भावनाबाट प्रेरित भएको उल्लेख गर्दै, आफू सधैं उनको साथमा रहने प्रतिबद्धता पनि जनाएकी छन्।







