Logo

पदाधिकारी चयनकाे जिम्मा अध्यक्ष प्रचण्डलाई



काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रले पदाधिकारीकाे चयन टुंग्याउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिएको छ ।

मंगलबार बिहान खुमलटारमा बसेको पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनको ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो ।

बैठकपछि माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने- ‘भोलिको बैठकमा पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन गर्ने निर्णय भयो । सबै प्रस्ताव ल्याउने जिम्मा अध्यक्षलाई दिइएको छ ।’ साथै प्रचण्डको प्रस्तावमा छलफल हुने र सबैले स्वीकार गर्नुपर्नेसमेत सहमति भएको छ ।

बैठकमा नेताहरुले जारी केन्द्रीय समिति बैठकबाटै यी विषय टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । तर, अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेका थिए ।

माओवादीकाे आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। जारी बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्